22

Licensed by Securites Board of Nepal

Member of Nepal Stock Exchange Limited

मार्जिन ट्रेडिङ कार्यान्वयन गर्न राष्ट्र बैंकसँग राय मागिंदै, ब्रोकर चार्ज टुंगो लगाउन बाँकी

मार्जिन ट्रेडिङ कार्यान्वयन गर्न राष्ट्र बैंकसँग राय मागिंदै, ब्रोकर चार्ज टुंगो लगाउन बाँकी

2018-10-04

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मार्जिन ट्रेडिङ कार्यविधि कार्यान्वयनमा ल्याउन अन्तिम तयारी भइरहेको बताएका छन् । प्रायः सबै काम सम्पन्न भइसकेको छ । ब्रोकरले लिने शुल्क (चार्ज) का सम्बन्धमा राष्ट्र बैंकको राय आवश्यक परेकाले त्यहाँबाट जानकारी मागिएको छ । राष्ट्र बैंकको राय आएपछि यो कार्यान्वयनमा ल्याइने उनले जानकारी गराए । 
 
बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा राष्ट्र बैंकसँग छलफल भइरहेको पनि उनले बताए । उनले भने ‘अहिले २ वटा बैंकहरुले ब्रोकर लाइसेन्सका लागि राष्ट्र बैंकमा आवेदन दिएका छ रे, यसको मतलब बैंकहरुको पनि यसमा चासो बढेको देखिएको छ, अब यो विषय पनि चाँडै समाधान हुन्छ ।’ उनले नेपाल बैंकको एफपीओमा देखिएको समस्या समाधान गर्न बोर्डले अध्ययन समिति गठन गरेको जानकारी गराउँदै भने, ‘रिपोर्ट आएपछि त्यसैका आधारमा चाँडो भन्दा चाँडो समस्या समाधान गर्छौ ।’ 
 
विश्व लगानीकर्ता सप्ताहमा बुधबार आयोजित कार्यक्रममा गिरीले गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा ल्याउनका लागि अर्थ मन्त्रालयमा उच्चस्तरीय अध्ययन कमिटी बनेको र उक्त कमिटिले काम गरिरहेको जानकारी पनि गराए । अहिले गैर आवासीय नेपालीले सेयर बजारमा लगानी गरेपनि आम्दानी कसरी फिर्ता लैजान दिने भन्ने विषयमा अन्योलता देखिएको उनको भनाई छ । 
 
पछिल्लो समय उपत्यका बाहिर ब्रोकरहरुको माग बढ्न थालेको भन्दै बढी आर्थिक गतिविधि हुने ठाँउमा ब्रोकर थप्नेतर्फ बोर्डको ध्यान गएको बताए । उक्त कार्यक्रममा लगानीकर्ताहरुले पछिल्लो समय धितोपत्र बजारमा देखिएका समस्या समाधान गरेर बजारलाई प्रधावकारी ढंगले अघि बढाउन पहल गरिदिन सरोकारवाला निकायका अधिकारीहरुसँग आग्रह गरे । 
 
कार्यक्रममा लगानीकर्ताहरुले नियामक निकायमा समन्वय अभाव रहेको, ब्रोकर कमिशनका साथै नियामक निकायले लिने कमिशन दर पनि बढी भएकाले घटाउनुपर्ने माग गरेका थिए । कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का महाप्रबन्धक चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ पूर्णरुपमा कार्यान्वयनमा आएपछि देशभरका लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने बताए । उनले यूजर एसेप्टेन्स टेस्ट (यूएटी)को काम बढीमा १० दिनमा सकिने जानकारी पनि गराए । 
 
साभार:-नेपाली पैसा डट कम