
विद्युतिय प्रणालीवाट धितोपत्रको राफसाफ सुरु, मेरो शेयरमा थपियो नयाँ फिचर
2018-10-09
सिडीएस एण्ड क्लियरिङ्गले दोस्रो बजारमा कारोबार भएको धितोपत्रको राफसाफका लागि विद्युतिय प्रणाली सुरु गरेको छ । सिडीएससीले आज आइतबार देखि विद्युतिय निर्देशन पुर्जी (ईडीआइएस) सेवा कार्यान्वयनमा ल्याएको हो ।
यसका लागि मेरो शेयरमा ईडीआइएसको फिचर थपिएको छ ।
त्यस फिचरको प्रयोग गरेर लगानीकर्ता आफुले बिक्री गरेको धितोपत्रको कारोबार सम्बन्धि विवरण हेर्न र त्यसको राफसाफ गर्न सकिने भएको हो । मेरो शेयरमा माई इडिआईएस फिचरमा गएर लगानीकर्ताले विद्युतिय माध्यमबाट शेयर कारोबारको राफासाफ गर्न सक्नेछन् ।
कारोबार सम्पन्न भएको दिन देखि कारोबार भएपछिको दास्रो दिन (टि+२) सम्मको समयावधि भित्र जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गर्न सकिने सुविधा रहेको छ ।
साथै कारोबार भएका शेयरको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्नो राफसाफ सदस्यलाई बुझाउन सकिनेछ ।
ईडीआइएसको प्रयोगसंगै लगानीकर्तालाई नेप्सेले मोक ट्रेडिङ्ग गरीरहेको पुर्ण स्वचालित कारोबार प्रणलीको प्रयोग गरी कारोबार गर्न थप सहज हुने, कारोबार राफसाफकै लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्यालय धाउनुपर्ने बाध्यता र समयमै निर्देशन पुर्जी जारी हुन नसकेको कारण क्लोज आउटको समस्या अन्त्य हुने सिडीएससीको दाबी छ ।